हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ६०औँ स्थापना दिवसको उपलक्ष्यमा सोमबार हेटौँडा–१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन, ज्येष्ठ नागरिक आश्रय स्थललाई खाद्यान्न सहयोग गरेको छ। मउवासंघको टोलीले आश्रममै पुगी एक कार्यक्रमबीच उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले संघको स्थापना दिवसको अवसरमा आश्रमको आवश्यकताको विषयमा पूर्वजानकारी लिएर खाद्य सामग्री सहयोग गर्न उपस्थित भएको बताउनुभएको थियो। उहाँले आगामी दिनमा पनि आश्रमलाई आवश्यक सहयोग गर्न संघ सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा आश्रमका टीआर निरौलाले आश्रमको सञ्चालन र व्यवस्थापनको बारेमा जानकारी गराउनुभएको थियो। उहाँले आश्रमको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको, वि.सं. २०६१ सालबाट निर्माण प्रारम्भ गरी २०६४ सालबाट सञ्चालनमा आएको, सहयोग लिँदै र दिँदै आएको बताउनुभयो। साथै, अतिरिक्त सामाजिक सेवाको रूपमा १६ वटा सरकारी विद्यालयमा ४६३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पढाउँदै आएको जानकारी दिँदै यसमा मउवासंघका पदाधिकारीहरूलाई पनि सहकार्यका लागि जोडिन आग्रह गर्नुभएको थियो।

कार्यक्रममा मउवासंघकी महासचिव प्रतिमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा संघका पदाधिकारीहरू, कार्यसमितिका सदस्यहरू तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।