हेटौँडा । बागमती प्रदेशमा लामो समयदेखि चल्दै आएको सत्ता समीकरणको अन्योल टुंगिएको छ। नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।

बिहीबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित एक विशेष समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा सोभन्दा बढी दलहरूको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। मुख्यमन्त्री थापालाई आफ्नै दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थन रहेको छ।