हेटौँडा, १२ कात्तिक । मकवानपुरमा आर्थिक मन्दी र बैँकको चर्को ब्याजका विषयलाई लिएर व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । आईतबार उद्योग वाणिज्य संघ चितवनको भ्रमण टोलीसँग छलफल गर्दै मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनको टोलीले चिन्ता व्यक्त गरेको हो ।

मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उनले संघको स्थापनादेखि संघले सम्पादन गरेका गतिविधि र मकवानपुर जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको बारेमा चर्चा गरेका थिए । अग्रवालले आर्थिक मन्दीले व्यवसायिक कारोवार निराशाजनक रहेको र यस परिस्थितिले विदेश पलायन बढाउने चिन्ता व्यक्त गरेका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले चर्को बैंक व्याज र आर्थिक मन्दीको प्रभाव न्यूनिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले मकवानपुर र चितवनको धेरै परिवेशहरु मिल्दोजुल्दो रहेको बताए । उनले कृषि तथा पर्यटनमा चितवन अघि बढिरहेको र चितवन मेडिकल सिटीको रुपमा बिकास हु“दै गएको बताएका थिए । उद्योग वाणिज्य संघ चितवनले चेम्बर लर्निङ सेन्टर स्थापना गरेका कारण युवा तथा महिला उद्यमशीलता विकास भएको बताउँदै उनले नव उद्यम प्रवद्र्धन र विदेशबाट फर्केकाहरुको लागि रिटर्नी उद्यम संचालन जस्ता अवधारणामा लर्निङ सेन्टरले काम गर्ने गरेको बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय भ्रमण टोली अहिले हेटौँडामा छ । भ्रमण टोली मकवानपुरको चित्लाङमा बास बस्ने, सोमबार धुलिखेलमा र मंगलबार भक्तपुर हु“दै चितवन फर्कने भ्रमण तालिका रहेको छ ।