TOPSHOT - Russian President Vladimir Putin (L) and Chinese President Xi Jinping pose for a photograph during their meeting in Beijing, on February 4, 2022. (Photo by Alexei Druzhinin / Sputnik / AFP) (Photo by ALEXEI DRUZHININ/Sputnik/AFP via Getty Images)

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नौ दिनपछि आयोजना हुने विश्वका २० प्रमुख अर्थतन्त्रहरुको लुज नेटवर्क जी-२० मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएका छन् ।

पुटिनले आफू आउन नपाउने जानकारी भारतीय पक्षलाई फोनै गरेर गराएका थिए । भारतमा आयोजना हुनु अगाडि इन्डोनेसियामा आयोजना भएको जी-२० शिखर सम्मेलनमा पनि पुटिन गएका थिएनन् ।

यस्तै बेलायती समाचार संस्था रोयटर्सले चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि जी-२० मा नजाने समाचार बनाएको छ । रोयसर्टका अनुसार सीको ठाउँमा चिनियाँ प्रधानमन्त्री लि चियाङ सहभागी हुने भएका छन् ।

गत हप्ता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्सको १५औं शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी पनि गरेका सीको भारत भ्रमण नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

रुस र चीनका राष्ट्र तथा सरकार प्रमुखहरुको अनुपस्थितिले भारतमा आयोजना हुने पहिलो जी-२० शिखर सम्मेलन खल्लो हुने टिप्पणी भारतमै सुरु भएको छ । पश्चिमा देशहरुको मुख्य अनुहारहरु आउने र रुस तथा चीन जस्ता पूर्वका शक्तिहरुको शीर्ष नेतृत्वको अनुपस्थितिले सेप्टेम्बर ९ र १० मा भारतमा हुने जी-२० को रौनकतामै कमी आउने भएको छ ।

पुटिन र सी अनुपस्थित हुने भए पनि जी-२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने सहभागी हुनेछन् । बाइडेनले आफू नयाँ दिल्लीमा आउने सूचना सार्वजनिक गरिसकेका छन् ।