कैलाली, ७ मंसिर । अनलाईनमार्फत ठगी गरेको अभियोगमा ५ जना नेपाली र ४ जना भारतीय गरी जम्मा ९ जना व्यक्तिहरु धनगढीबाट पक्राउ परेका छन् । कञ्चनपुर बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार सहितको ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
धनगढी उपमहानरपालिका-५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा उनीहरुले अबैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका विदेशी नागरिकहरुलाई अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थान बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












