तनहुँ, १३ मंसिर ।  तनहुँको ब्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४५ वर्षीय हस्त राई र  अन्दाजी ५५ वर्षीय पुरूष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र पुरूषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । १ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् ।