मकवानपुर, १६ मंसिर । पर्साको बिरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ४० मिलिग्रामसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २४ वर्षीय एक युवकसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पर्साबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।