मकवानपुर, ११ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएको छ । बुधबार गाउँपालिका र कोल्ड स्टोर निर्माणको ठेक्का पाएको हिमालयन नमोवुद्ध जे.भी. बीच सम्झौता भएको हो ।

२०८० जेठ २ गते गाउँपालिकाले कोल्ड स्टोर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाको प्राविधिक मुल्याङ्कन अनुरुप कोल्ड स्टोर निर्माण गर्न कुल ७ करोँड ५७ लाख ९६ हजार लागत अनुमान गरिएको बताइएको छ । उक्त ठेक्का प्रकृयामा सबैभन्दा कम ६ करोँड २८ लाख ४५ हजारमा ठेक्का साकार गरेको हिमालयन नमोवुद्धसँग कानुनी अड्चनका कारण गाउँपालिकाले सम्झौता गर्न सकेको थिएन ।

बोललपत्रमा दोस्रो नम्बरमा परेको कम्पनी हिमाल एम.एम जे.भी. ले ठेक्का साकार गर्ने कम्पनीलाई मुद्धा दायर गरेपछि उच्च अदालत पाटन इजलासले गाउँपालिकालाई प्रकृया अघि नबढाउन पत्र पठाएको थियो ।

त्यसयता कुनै पनि काम गर्न असमर्थ भएको गाउँपालिकालाई गत माघ ५ गते अदालतले कार्य अघि बढाउन पत्र दियो । हिमाल एम.एम जेभीले दायर गरेको रिट निवेदन खारेज गर्दै प्रकृया अघि बढाउन आदेश दिएपछि गाउँपालिकाले बुधबार कम्पनीसँग सम्झौता गरेको हो ।