जी. न्यौपाने, मकवानपुर, १३ माघ । हेटौँडा ११ नवलपुर निवासी विशाल अर्याल, नवलपुरको सडक छेउमा ठेलामा मःम, चाउमिन, आलुचप लगायतका विभिन्न परिकारहरु बिगत ७ वर्षदेखि बेच्दै आएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेश गएर आएका अर्यालले हेटौँडाका होटलहरुमा कुकको काम समेत गरे । यी सबै कामले भन्दा उनलाई आफ्नै लगानीमा गरेको ठेलाको व्यापारले नै सन्तुष्टि दिएको बताउँछन् ।

दिनमा मःम, चाउमिन, कुखुराको मासुको परिकार, डम स्टिम, लेगपिस, ससेज, आलुचप लगायतको खाजाको ६–७ परिकार उनले करिब ७–८ हजार रुपैयाँ बराबरको बेच्छन् । उनले त्यसबाट आफुलाई १ हजार ५ सय रुपैयाँ मुनाफा निकाल्छन् ।

बुवा, श्रीमती, आफु, दुई छोरी र एक छोरा गरी ६ जनाको परिवार यसै पेशाबाट पालिएको छ र दुई छोरी निजी र सरकारी विद्यालयमा पढाएका छन् । यही पेशाबाट उनीहरुलाई पढाउन समस्या नभएको अर्यालले बताए । यतिमात्रै होईन, उनले नवलपुरमै यही ठेलाको ब्यापारले १० धुर जग्गा समेत खरिद गरेका छन् ।

दिनको १ बजेदेखि उनको ठेलामा खाजा खान आउने भिडमा प्राय युवा पुस्ता बढी देखिन्छन् । उनको यो समय अत्यन्तै व्यस्त समय हो । उनलाई खाजा दिएर भ्याई नभ्याई हुन्छ । यतिमात्र होईन, फोनबाट पनि खाजाको माग गर्नेहरुलाई उनले खुशी तुल्याएको देख्न सकिन्छ ।

मासिक ३०–४० हजार कमाउनका लागि वैदेशिक रोजगारीमा जानै नपर्ने , मेहनत गरे नेपालमै कमाईने उनको विश्वास छ । ‘‘म र मेरो परिवार यसै पेशाबाट पालिएका छौँ । म मेरो पेशाबाट सन्तुष्ट पनि छु’’ उनले भने । यसैगरी मेहनत गरेर काम गर्ने हो भने ब्यापारबाट घाटा लाग्दैन भन्ने कुरामा उनी ढुक्क छन् ।