मकवानपुर, १३ माघ । मकवानपुरको हेटौँडामा स्थानीय वृहत लोकदोहोरी तथा नृत्य प्रदर्शन कार्यक्रम गरिएको छ । ‘स्थानीय उत्पादनको प्रवद्र्धन, स्वरोजगार बनाउने अभियान, घरेलु उद्योग कृषि र पर्यटन, कला सँस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको शहिद सप्ताह २०८० को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौँडा ११ शहिद स्मारक परिसरमा भइरहेको मेलामा लोकदोहोरी तथा नृत्य प्रदर्शन गरिएको हो ।
शहिद स्मारक विकास समिति र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को संयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी शहिद सप्ताह मनाउने शहिद स्मारक विकास समितिका व्यवस्थापक रामचन्द्र न्यौपाने (आर.सी.) ले जानकारी दिनुभयो ।

मेलामा कृषि, पर्यटन, घरेलु उद्योग र सामाजिक स्टल गरी २३ वटा स्टलहरु रहेका छन् । निःशुल्क अवलोकन गर्न पाउने मेला माघ १६ गते समापन गरिने मेला आयोजक समितिका सदस्य तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का सदस्य विकास नेपालले बताउनुभयो ।










