जी.न्यौपाने, मकवानपुर, १४ माघ । हेटौँडा ११ स्मारकमा जारी मेलाको पाँचौँ दिन आईतबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा अजेश अधिकारी प्रथम, आँचल सुवेदी दोस्रो, सायना सापकोटा तेस्रो र सृष्टि उप्रेती चौथो भएकी थिईन् ।
प्रथम, दोस्रो,तेस्रो र चौथोलाई क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।वक्तृत्वकलामा बाल विवाह र बाल श्रमजस्ता विषयलाई समावेश गरिएको थियो । हेटौँडा ११ का विभिन्न विद्यालयका विद्यार्थीहरुले बालविवाह, बालश्रमको विरुद्धमा परिवार,समुदाय र सरकार तथा सम्बन्धित निकायहरु जिम्मेवार रहेको विषयमा बोलेका थिए ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की वडाअध्यक्ष जुना दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा शहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वक्तृत्वकलाका निर्णायक मामाघर नेपालमा संरक्षक अर्पण पराजुली, गैसस महासंघका अध्यक्ष आरती पाठक, माईती नेपाल मकवानपुरकी प्रमुख माया लामा लगायत रहेका थिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यही माघ १५ गते सोमबार राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिका सदस्य तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य सञ्जय बिडारीले जानकारी दिनुभयो । । सप्ताहव्यापी कार्यक्रममा प्रवेश निःशुल्क रहेको स्मारक व्यवस्थापन समितिका आरसी न्यौपानेले जानकारी दिनुभयो ।











