जी. न्यौपाने, १८ माघ । बागमती प्रदेशको राजधानी हेटौँडा, राजधानीको पनि राजधानी भएकोले यसको चौतर्फी विकास हुनुपर्ने रिपोर्टर्स क्लबका केन्द्रिय अध्यक्ष ऋषी धमलाले बताएका छन् । रिपोर्टर्स क्लब मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै धमलाले यस्ता कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सुझाव दिँदै ‘हेटौँडामा राम्रो काम गर्नुस् प्रधान मन्त्री बन्नुस्’ धमलाले भने । धमलाले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयका प्रदेश रजिष्ट्रार रेवती सापकोटालाई पत्रकारहरुको सूचना पाउने अधिकार हनन नहुने नितिनियम बनाउन सुझाव समेत दिनुभयो ।

पत्रकारहरुलाई वैदेशिक रोजगारीमा होईन, स्वदेशमै अवसरको वातावरण बनाईदिन पनि उनले आग्रह गरे । उनले देशका साना ठूला लडाई र समाज परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका रहेको भन्दै पत्रकारहरुलाई सूचना उपलब्ध गराएर टिकाउन समेत प्रदेश सरकारलाई अनुरोध गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पत्रकारहरुले एउटा कार्यविधी बनाएर ल्याए आफुले एकचोटी सहयोग गर्ने प्रतिवद्धत्ता जनाए । यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका उपाध्यक्ष ध्रुव अधिकारीले पत्रकारहरूको सूचन प्राप्त गर्ने अधिकार हुँदाहुँदै पनि सूचना एजेन्सी, सरकारी कार्यालयहरूका एकाध शाखा प्रमुखले सूचना अन्तै बेच्ने गरेको भन्दै त्यसलाई रोक्न प्रदेश सरकार सामु आग्रह गरे।

कार्यक्रममा बोल्दै प्रदेशका मन्त्री गंगानारायण श्रेष्ठ र प्रदेश रजिष्ट्रार रेवती सापकोटाले मापदण्ड पुर्याएर आएमा सूचना दिने बताए । पत्रकारहरुलाई सूचना पाउन रोक्ने ऐनहरु परिवर्तन गर्नुपर्नेमा पनि उनले जोड दिए । रजिष्ट्रार सापकोटाले मकवानपुर जिल्ला प्रदेशको राजधानी भएकोले अब जिल्लाको पत्रकार जस्तो नभई प्रादेशिक पत्रकार बनेर काम गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारहरुलाई त्यही अनुसारको शैक्षिक र दक्षता अभिवृद्धि तालिम दिन सञ्चार रजिष्ट्रारको कार्यालय लागिपरेको र पत्रकारहरुलाई पनि आफ्नो क्षमता विकास गर्न सुझाव पनि दिए ।