तस्बिर–आशबहादुर भ्लोन

मकवानपुर, २२ माघ । मकवानपुरको हेटौँडा–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौँ जाने छोटो दुरीको मार्गमा केही समयदेखि निरन्तर सडक पिच हुने क्रम जारी छ । केही समयअघिदेखि त्यहाँबाट चल्ने सुमोलाई समेत रोक लगाउँदै पिच गर्न सुरु गरिएको सडकमा लगातार पिच हुने काम भईरहेको स्थानीय युवा समाजसेवी आशबहादुर भ्लोनले जानकारी दिएका छन् ।

उनका अनुसार फर्पिङ हुमाने सडकको पहिलो प्याकेजको ३ किमि बाटो पिच गर्ने कार्य सोमबारसम्म सक्ने योजना छ । सोमबार पिच कार्य सकिएमा मंगलबार बिहानबाटै त्यहाँबाट स्कूलको बस, लोकल बस र स्थानीय रुपमा सवारी साधनहरु संचालन गर्न सकिनेछ । तर लामो दुरीका सुमोहरु भने त्यस बाटो मार्फत संचालन हुन अझै केही समय लाग्नेछ ।

भ्लोनका अनुसार अब फाखेल–राकशखोला–माने डाँडाहुँदै लामा गाउँ झरेर फर्पिङ काठमाडौँ जान सकिन्छ । त्यस्तै हुमाने हुँदै फुल्चोक ठासीगाउँ हुँदै हिँडडुल गर्न पनि सकिनेछ । ठेक्का सम्झौतामार्फत ३ वटा प्याकेज अन्तर्गत स्तरोन्नत्ति थालिएको सो सडकखण्डमा अब दोस्रो प्याकेज अन्तर्गतको सडक पिच कार्य पनि छिट्टै सुरु हुने बताइएको छ ।