थाहा न्यूज,मकवानपुर, २२ माघ । झरना साहित्यिक परिवार मकवानपुरले साहित्यका विविध विधामा योगदान पुराएका ९ जना साहित्यकार तथा साहित्यसेवीहरुलाई विविध पुरस्कार प्रदान गर्ने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गर्नुभएको हो ।

संस्थाको आयोजनामा हुने ‘बकैया–कला साहित्य महोत्सव २०८०’ मा यी पुरस्कारहरु वितरण गरिने बताइएको छ । संस्थाले साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद रू. २१ हजार १ सय २१ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० काठमाडौँका डा. गीता त्रिपाठीलाई प्रदान गर्ने भएको छ । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गर्नुभएको हो । यस सम्मानबाट प्रा.डा. जीवेन्द्रदेव गिरी–२०७९ मा, प्रा.डा.देवी नेपाल–२०७८ मा, प्रा.डा. भीम खतिवडा–२०७७ मा र डा. नवराज लम्साल–२०७६ मा सम्मानित भइसक्नुभएको छ ।

त्यस्तै मुक्तकमा योगदान गरेवापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८० मोरङका बाबुराम पोखरेललाई प्रदान गरिने भएको छ । । यो सम्मान साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गर्नुभएको हो । यस पुरस्कारबाट रुद्र अधिकारी–२०७९ मा, मुक्तककार वियोगी बुढाथोकी–२०७८ मा, मुक्तकककार ज्ञानुवाकर पौडेल–२०७७ मा र मुक्तककार उषा शेरचन–२०७६ मा सम्मानित भइसक्नुभएको छ ।

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८० बाट मकवानपुरे साहित्यकार साम्ब ढकाललाई सम्मान गर्ने भएको छ । । यो सम्मान साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गर्नुभएको हो । यसबाट कथाकार नवराज शर्मा–२०७९ मा, साहित्यकार आर सी रिजाल–२०७८ मा, कवि आर.आर. चौलागाईँ–२०७७ मा र व्यङ्ग्यकार रामचन्द्र आचार्य (फुर्सती)–२०७६ मा सम्मानित भइसक्नुभएको छ ।

साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गर्ने नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८० यस वर्ष स्याङ्जाका मिलन समीरलाई प्रदान गरिने भएको छ । । यो सम्मान साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गर्नुभएको हो । यस सम्मानबाट अमला अधिकारी(सिन्धुली)–२०७९ मा, यात्रीप्रकाश पाण्डे (धादिङ)–२०७८ मा, सुमित्रा सुमी (नुवाकोट)–२०७७ मा र विनोदविक्रम केसी (काठमाडौँ)–२०७६ मा सम्मानित भइसक्नुभएको छ ।

त्यस्तै मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८० बाट यस वर्ष गजलकार बिमला कार्की “सुसं” लाई सम्मान गरिने भएको छ । । यो सम्मान साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गर्नुभएको हो । यो सम्मानबाट कवि अनिता न्यौपाने–२०७९ मा, कवि शान्ति प्रियवन्दना–२०७८ मा, साहित्यकार रुकु कार्की–२०७७ मा र कवि विना थिङ तामाङ–२०७६ मा सम्मानित भइसक्नुभएको छ ।

मकवानपुरको साहित्यसेवी रहेवापत प्रदान गरिने नगद रु ७ हजार ७ सय ७७ सहितको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान–२०८०’ यस वर्ष भरतप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ । यो सम्मान साहित्यसेवी तुलसी गिरीले स्थापना गर्नुभएको हो । यस सम्मानबाट साहित्यसेवी कृष्ण प्रसाद चौलागाई–२०७९ मा, साहित्यसेवी बेल प्रसाद दाहाल–२०७८ मा, साहित्यसेवी मनहरी लामिछाने–२०७७ मा र साहित्यसेवी मुक्तिगोविन्द वैद्य–२०७६ मा सम्मानित भइसक्नुभएको छ ।

त्यस्तै मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार प्रदान गरिने नगद रु.११ हजार १ सय ११ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० यस वर्ष मकवानपुरका रामकुमार एलनलाई प्रदान गरिने भएको छ । यो सम्मान गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको हो । यस सम्मानबाट भानुभक्त आचार्य–२०७९ मा, स्व. पत्रकार गोकर्ण गौतम–२०७८ मा, पत्रकार खेम बोलखे–२०७७ मा र पत्रकार प्रताप विष्ट–२०७६ मा सम्मानित भइसक्नुभएको छ ।

बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० यस वर्ष गजलकार अजर फुयाँललाई प्रदान गरिने भएको छ । यो सम्मान बकैयाका चन्द्रकुमार राईले स्थापना गर्नुभएको हो । यस सम्मानबाट कवि स्वस्तिका दाहाल–२०७९ मा, गजलकार विजय दोङ–२०७८ मा र दीपशिखा घिमिरे–२०७७ मा सम्मानित भइसक्नुभएको छ ।

त्यस्तै बकैयामा रहेका कलाका क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित नगद ७ हजार ७ सय ७७ सहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८० बाट यस वर्ष बाँसुरी वादक विष्णु घतानीलाई सम्मानित गरिने भएको छ । । यो सम्मान बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको हो । यो सम्मानबाट ऋषि केवि–२०७९ मा र कलाकार बाबुलाल वाईवा–२०७८ मा सम्मानित भइसक्नुभएको छ ।

झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० फागुन ११ र १२ गते कालीदेवी मावि बकैया–९, शिखरपुरमा हुने सचिव उपासकले जानकारी दिए । महोत्सवमा पहिलो दिन रचना वाचन र चित्रकला प्रतियोगिता हुनेछ । साथै बकैया विशेष रचना वाचन पनि पहिलो दिन नै हुनेछ ।

त्यस्तै महोत्सवको दोस्रो दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन,गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुनेछ ।