मकवानपुर, २८ कात्तिक । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन ५ को हेटौँडा अडिसन मंशिर २६ गते हुने भएको छ । यसअघि अडिसन मंशिर १६ गतेदेखि शुरु हुने छ । नेपाल आईडल टिमले एक प्रोमो सार्वजनिक गर्दै नेपालका विभिन्न शहरहरुमा अडिसन हुने मिति र स्थान सार्वजनिक गरेको हो ।

नेपाल आईडलको पहिलो अडिसन मंशिर १६ गते झापाको बिर्तामोडमा अवस्थित ग्रीनफिल्ड वर्ल्ड स्कूलमा हुनेछ । त्यस्तै मंशिर २१ गते महोत्तरीको बर्दिबासमा अवस्थित देउराली सेकेण्डरी स्कूलमा, मंशिर २६ गते मकवानपुरको हेटौँडामा अवस्थित कृष्ण आदर्श ईङ्ग्लीस स्कूलमा, मंशिर ३० गते कास्कीको पोखरामा अवस्थित मदरल्याण्ड सेकेण्डरी स्कूलमा, पुस ६ गते कैलालीको अत्तरियामा अवस्थित सत्यवती एकेडेमीमा, पुस ११ गते सुर्खेतको विरेन्द्रनगरमा अवस्थित मिडवेष्ट युनिभर्सिटीमा, पुस १६ गते दाङको घोराहीमा अवस्थित अल्फा ईङ्ग्लीस स्मकूलमा र अन्तमा काठमाडौँमा अडिसन हुनेछ । काठमाडौँ अडिसन हुने मिति भने सार्वजनिक भएको छैन ।

नेपाल आईडल सिजन ५ मा पनि सिजन ४ कै निर्णायकहरु दोहोरिन्छन् वा नयाँ निर्णायकहरु थपिन्छन् त्यसको एकिन जानकारी दिईएको छैन । सिजन ४ मा शम्भुजित बासकोटा, सुगम पोख्रेल र सुवानी मोक्तान निर्णायक थिए । नेपाल आईडलको तेस्रो सिजनसम्म ईन्दिरा जोशी, न्हु बज्राचार्य र कालीप्रसाद बासकोटाले निर्णायकको भूमिका निभाएका थिए । नेपाल आईडलमा यसअघिको सिजनहरुमा बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईँ र भुपेन्द्र थापा मगर विजयी भइसकेका छन् ।