
मकवानपुर, ३० कात्तिक । चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन रोकिएको छ । शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका हुन् । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्- हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं ।
यसबारे निर्देशक बस्नेतले फेसबुक लाइभमार्फत पनि जानकारी गराएका थिए । उनका अनुसार, अहिले विदेशी फिल्मले १० वटा शो पाउँदा चलचित्र दिमाग खराबले ३ देखि ४ वटा मात्रै पाएको छ । नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् । बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गएपनि हलहरुले शो नदिएको गुनासो गरे । उनले विदेशी फिल्म बराबर आफूहरुलाई शो दिनुपर्ने समेत बताए ।
उनका अनुसार, पहिलो र दोस्रो हप्ता फिल्म लाग्दा निर्माताहरुले आम्दानीको ५० प्रतिशत पाउँछन् भने वितरकहरुले ५० प्रतिशत राख्छन्, त्यसमा डिस्टिब्यूटरको शेयर, करहरु लगायत काटिन्छ । फिल्म निर्माणमा चार करोड रुपैयाँभन्दा बढी खर्च भएको समेत उनले बताएका छन् । हेर्नुहोस् विज्ञप्ति–