मकवानपुर, १३ कात्तिक । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ मा ब्लाईण्ड अडिसनबाट ६४ जना प्रतियोगीहरु छानिएका छन् । उनीहरुमध्ये १४ जना प्रतियोगीहरुले चारै जना कोचहरुको कुर्सी घुमाउन सफल भएका थिए ।

ब्लाईण्ड अडिसन सकिएसँगै शोका ४ कोचहरुको टिममा १६–१६ जना प्रतियोगीहरु रहेका छन् । उनीहरुले अब आफ्नै टिमका प्रतियोगीहरुसँग ब्याटल भिड्नेछन् । ब्याटलमा जिते हासिल गरेकाहरुको प्रत्येक टिममा ८ जनाको समूह बन्नेछ । त्यस्तै ब्याटल राउण्डमा प्रत्येक कोचले अर्को टिमको ब्याटल हारेका तर दमदार प्रस्तुति दिएका कुनै एक प्रतियोगीलाई स्टिल गर्ने अधिकार हुनेछ । यसरी अब ब्याटल सकिँदा हरेक टिममा ९–९ जना गरी जम्मा ३६ जना प्रतियोगीहरु नकाउट राउण्डमा प्रवेश गर्नेछन् ।


नकाउटमा प्रत्येक टिमभित्र ३–३ जनाको प्रतिस्पर्धा हुनेछ । त्यसपश्चात प्रत्येक टिमबाट ३–३ जना गरी १२ जना प्रीतयोगीहरु लाईभ शो राउण्डमा प्रवेश गर्नेछन् र भोटिङ सुरुवात हुनेछ । यसरी भोटिङबाट छानिएकाहरुमध्ये प्रत्येक कोचको टिमबाट १–१ जना गरी ४ जना प्रतियोगीहरु फाईनलमा पुग्नेछन् र अन्तमा कुनै एक कोचको प्रतियोगीले जित हासिल गर्नेछ ।

शोको यस सिजनमा राजेश पायल राई, उदय सोताङ, प्रमोद खरेल र मिलन नेवारले कोचको भूमिका निभाइरहेका छन् । उनीहरुले आफ्नो एड्भाईजरसँगै मिलेर आफ्नो टिमका प्रतियोगीहरुलाई कोच गर्दैछन् । ब्याटल राउण्डको पनि सुटिङ सकिसकेकोले यो साताबाट शोको ब्याटल राउण्डहरु प्रसारण हुनेछन् ।