मकवानपुर । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले महिला उद्यमीहरुसंग निवेदन पेश गर्न सूचना प्रकाशन गरेको छ । मन्त्रालयको चालू आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश भित्रका १३ जना महिला उद्यमीहरुलाई प्रविधि सहयोग स्वरुप बिउ पूँजी उपलब्ध गराउने कार्यक्रम रहेको भन्दै आज विहीबार अर्थात् ११ असोज २०८० का दिन सूचना प्रकाशन गरिएको हो ।

महिला उद्यमशीलता विकास वित्तीय पहँच, टेवा पूँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन कार्यविधि २०७७ को दफा ४ बमोजिम इच्छुक महिला उद्यमीहरुले सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन (२०८०/०६/२५) भित्र प्रविधि सहयोगका लागि सम्बन्धित स्थानीय तहमा विभिन्न आवश्यक कागजात सहित निवेदन दिनु भनी सूचना निकालेको हो ।

महिला उद्यमी र महिला उद्यमी समूहले कार्यविधिको अनुसूचि १ को ढाँचा बमोजिमको निवेदन साथ  उद्योग र व्यवसाय दर्ता वा नवीकरणको प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र, कर दाखिला गरेको प्रमाण वा कर चुक्ताको प्रमाणपत्र, आवश्यकता अनुसार व्यावसायिक इजाजतपत्र, व्यावसायिक योजना, माग गरेको प्रविधि र सो प्रविधिको क्षमता आवश्यक पर्ने जनाइएको छ ।

सम्बन्धित स्थानीय तहले प्रविधि सहयोग माग गरी दिएका निवेदकहरुको नामनामेशी र मूल्याङ्कनका आधारहरु सूचना प्रकाशित भएको समयावधि समाप्त भएको भोलिपल्ट अर्थात १६ औँ  (२०८०/०६/२६) दिनमा मन्त्रालयमा अनिवार्य रुपमा पठाइसक्नुपर्नेछ र निवेदनहरुका साथ संलग्न कागजातहरुको आधारमा कार्यविधिको दफा ७ बमोजिम एक जना महिला उद्यमी छनोट गरी निवेदन दिने  म्याद समाप्त भएको मितिले १५ दिन (२०८०/०७/१०) भित्र  मन्त्रालयमा सिफारिस गरी पठाउन सूचनामा भनिएको छ ।