च्याटजीबीटीमा अब आवाजको माध्यमबाट कुराकानी गर्न सकिने भएको छ । च्याटजीपीटीको मुख्य कम्पनी ओपनएआईले सोमबार एक  ब्लग लेख्दै यसबारे जानकारी दिएको हो ।

ओपनएआईका अनुसार अब च्याटजीपीटीले सुन्न, बोल्न र देख्न सक्नेछ । अमेजनको एलेक्सा र एप्पलको सिरी भ्वाइस असिस्टेन्टहरूले जस्तै च्याटजीपीटीले पनि काम गर्नसक्ने छ ।

ओपनएआईले शेयर गरेको डेमो भिडिओमा एक प्रयोगकर्ताले च्याटजीपीटीलाई कथा भन्न लगाउँछन् । प्रतिक्रियामा च्याटजीपीटीले मानव आवाजमा कथा भनेको सुनिन्छ । त्यस्तै कथा भनिसकेपछि कथामा भएका पात्र, घटनाबारे प्रश्न सोध्दा च्याटजीपीटीले उत्तर दिएको छ ।च्याटजीपीटीको यो क्षमता ‘टेक्स्ट टु स्पिच मोडल’ मा आधारित भएको र केही अक्षर तथा नमूना आवाजका आधारमा यसले मानव आवाज निकाल्न सक्ने ओपनएआईले उल्लेख गरेकाे छ ।

त्यस्तै पाँच-फरक फरक आवाजका लागि कम्पनीले व्यावसायिक कलाकारसँग सहकार्य गरेको छ । बोल्न मिल्ने फिचरसँगै चित्रका आधारमा पनि प्रतिक्रिया दिनसक्ने क्षमता रहेकाे कम्पनीकाे भनाइ छ ।

प्रयोगकर्ताले कुनै पनि चित्र च्याटजीपीटीमा हालेर त्यससँग सम्बन्धित प्रश्न सोध्न सक्नेछन् । यद्यपि यी सबै फिचर च्याटजीपीटी प्लस र इन्टरप्राइज सर्भिस लिएका सशुल्क प्रयोगकर्ताहरूले आगामी दुई हप्तापछि मात्र प्रयोग गर्न पाउनेछन्  ।

ओपनएआईको यस नयाँ अपडेट प्रविधि क्षेत्रमा भइरहेको दौडका लागि महत्त्वपूर्ण हुने अनुमान गरिएको छ ।