१. कागती रसले खाना रुच्ने, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं साैन्दर्यवर्धक फल हाे। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ।

२. कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक बनावटमा सुन्दरता प्राप्त गर्न सकिन्छ। प्रशस्त मात्रामा यस्तो कागती पानी पिउनाले अनुहारमा डण्डीफोर हटाउन मद्दत पुग्छ ।

३. पेट पोल्ने रोगका लागि मरिच र नुनको साथमा कागतीको रस खानाले फाइदा पुग्छ। पेटमा ग्यास भरिएको अनुभव भएमा एक ग्लास पानीमा विरेनुन वा सिँधेनुन र जिराको धुलो राखेर पिउनाले आराम हुन्छ।

४. कागती पानीको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पुर्याउनुका साथै रगत सफा र शुद्ध पार्छ र हृदयशक्ति बढाउँछ।

५. कागतीको रसमा जिराको धुलो राखेर पिउनाले लामाे यात्रामा बान्ता हुने समस्या आउँदैन । लामो यात्रामा बान्ता होला जस्तो भएमा कागती सुँघ्नाले पनि फाइदा पुग्छ।

६. खाली पेटमा बिहानै कागतीको रस राखेर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ। साथै यसले मोटाेपन घटाउन समेत मद्दत गर्छ।

७. गर्मीयाममा अरूचि भएमा खानामा कागतीको रस राखेर खाँदा रूचि बद्छ। कागतीको रसमा सख्खर राखेर खानाले बाडुली रोकिन्छ।

८. अदुवाको धुलोमा कागतीको रस मिसाएर लेप लगाउनाले दाद र छाला चिलाउने रोग नाश हुन्छ। कागतीले शरीरमा भएका दूषित पदार्थ बाहिर निकाली आन्तरिक शक्तिमा वृद्धि गराउँछ।

९. कागतीको बियाँलाई पिसेर पानीसँग मिसाएर खाँदा पेटमा पर्ने जुका र चुर्ना नाश हुन्छन्।

१०. कागतीको रसमा चिनी राखेर पिउनाले पित्तरोगलाई फाइदा पुग्छ।